काठमाडौँ — कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पूरानै वचनमा कायम रहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताए।
‘देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु,’ उनले भने, ‘म धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ।’
उनले कांग्रेसमा आफ्नै नेतृत्वमा सरकारमा जानेबारे समेत छलफल भइरहेको स्वीकारे। ‘पार्टीभित्र छलफल नै नभएको होइन, विभिन्न कोणबाट छलफल भइरहेको छ, तर निर्णय भएको छैन,’ उनले भने, ‘गठबन्धनको बैठक बसिरहेको छ। पार्टीमा पनि छलफल भइरहेको छ। अब दुई तीन दिनभित्रमा टुंगो लाग्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।’