काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साझा नीतिगत प्रतिबद्धताका आधारमा वर्तमान सरकारले पूर्णता पाउने बताएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकारको साझा नीति तथा कार्यक्रमसहितको नीतिगत प्रतिबद्धतामाथि गठबन्धनभित्र छलफल भइरहेको बताए। त्यसैका आधारमा सरकारले पूर्णता पाउने उनको भनाइ छ।
उनले बाहिर चर्चामा आएजस्तो आफ्नो पार्टीले कुनै विशेष मन्त्रालयमा दाबी नगरेको जिकिर गरे। मुलुकको अर्थतन्त्र बुझ्ने र समस्या समाधान गर्ने व्यक्तिलाई अर्थ मन्त्रालय र देशका सामु देखिएका चुनौती तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याकन गर्न सक्नेलाई परराष्ट्रको जिम्मेवारी दिनुपर्नेमा जोड रहेको उनले बताए।
अध्यक्ष नेपालले एक वा दुई मन्त्रालय आफ्नो पार्टीका लागि कम हुने समेत बताए।
पछिल्लो समय सभामुख देवराज घिमिरेको कार्यशैलीले आपसी विश्वास कायम नरहने भएकाले संसद्को नियमावलीमा विस्तृत रूपमा छलफल गरेर टुंगोमा पुग्नुपर्नेमा उनले जोड दिए।