चितवन निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ  : खिमलाल देवकोटा - Chaitanya News
  • 2026-07-03
  • 09:16:19
  • शुक्रबार,आषाढ १९, २०८३
  • चितवन निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ  : खिमलाल देवकोटा

    चितवन निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ  : खिमलाल देवकोटा

    काठमाडौं – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन।

    आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैकै आईसीसी विश्व कप क्रिकेट लिग–२ ले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न सरकारसमक्ष अनुरोध गरे। सदस्य देवकोटाले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए।

    उनले भने ‘नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैको आईसीसी विश्व कप क्रिकेट लिग–२ ले पनि देखाएको छ। यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने त्यो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु। राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो हो, सरकारले नै गरोस्, हेरोस् भन्दा सरकारले सुन्नुपर्छ। गम्भीर हुनुपर्छ।’

    बैठकमा बोल्दै सदस्य देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए। उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कैयौँ सरकारी विद्यालयहरू ध्वस्त भएको बताए। निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै उनले आपत्ति जनाए।

    सांसद देवकोटाले नेपालबाट दिनहुँ विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै सरकारले यसमा गम्भीर बन्नुपर्ने बताए।