अहिलेको सत्ता गठबन्धन सरकार कृतिम हो : ओली - Chaitanya News
  • 2026-05-21
  • 05:29:22
  • बुधबार,जेठ ०६, २०८३
  • अहिलेको सत्ता गठबन्धन सरकार कृतिम हो : ओली

    अहिलेको सत्ता गठबन्धन सरकार कृतिम हो : ओली

    काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई कृतिमताको संज्ञा दिएका छन्। पार्टीको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन अर्घाखाँची पुगेका ओलीले अहिलेको गठबन्धनमा अनेकथरी तत्वलाई ढकमा राखेर तल पुर्याइएको बताएका हुन्। साथै, अहिले सबैभन्दा ठूलो दल एमाले नै भएको उनको दाबी छ। उनले अहिलेका विरोधीहरुलाई हराउनका लागि एमालेलाई कुनै गाह्रो नरहेकासमेत बताएका छन्।

    अहिलेका विरोधी तत्वहरुलाई एमालेले धोवीपाट लगाएर पछारेको दाबी गर्दै उनले भने,– ‘हामी जित्ने छौं एकदिन भनेर अब हामीले सुदूर भविष्यको कल्पना गरिरहनु आवश्यक छैन। अहिलेका विरोधीहरुलाई त हामीले कतिपटक धोवीपाट लगाएर पछारेका विरोधी हुन्। यिनीहरुलाई पछार्न कुनै गाह्रो छैन, खाली हामीले तरिका र सक्रियता लगाउन पर्यो। हामी जित्न सक्छौं। जितेर आएका हौं। फेरिपनि जित्छौं।’

    आफूहरुले सरकार बनाउने ओरिजिनल तरिका र हक कस्तालाई हुन्छ भनेर विरोधीहरुलाई देखाउन चाहेको उनको दाबी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदा कृतिम नगरौं भन्ने लागेर नै आफू प्रधानमन्त्री नबनेको उनले बताए।

    ‘अहिले पनि ठूलो पार्टी हामी छौं। अनेक थरी तत्व लगाएर एउटालाई ढकमा राख्यो, अर्कोलाई ढक तल राख्यो गरी–गरी ढक तल पुर्याएको हो। यो कृतिम हो । हामी ओरिजिनल तरिकाले बहुमत के हो? सरकार बनाउने हक कस्ताको हुन्छ भन्ने देखाएर छोड्छौं। प्रचण्डसँग मिल्दा पनि हामीले किन प्रधानमन्त्री हुन तयार भएनौं भने कृतिम पाराको काम नगरौं भनेर,’– उनले भने।

    देशको समृद्धि र सुखी नेपालीका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता उनले औंल्याएका छन्। आफूहरु राष्ट्रिय शक्ति निर्माणमा लागेपनि विरोधीहरु त्यसको विरुद्ध लागिरहेको उनको आरोप छ।

    ‘अब यी सबै कामका लागि एउटा राष्ट्रिय शक्तिको निर्माण नगरिकन हुँदैन। त्यसकारण हामी राष्ट्रिय शक्ति निर्माणमा लागेका छौं। हाम्रा विरोधीहरु त्यो राष्ट्रिय शक्ति निर्माण हुनै नदिन लागेका छन्,’– उनले भने।