रौतहट — अनियमितताबारे सूचना माग्दै एक सातादेखि आमरण अनशन बसेका गरुडा नगरपालिकाका प्रमुखका प्रत्याशी दीपक यादवले अनशन तोडेका छन्।
यादवलाई प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले कार्यक्रमस्थलमै पुगेर कागजपत्र उपलब्ध गराएपछि आइतबार दिउँसो जुस पिएर अनशन तोडेका हुन्। नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै अनशनमा बसेको यादवले बताए। यद्यपि आफूले मागेको सूचना उपलब्ध भइसकेपछि अनशन तोडेको उनले सुनाए।
शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ति, हाजिर रजिष्टर, तलब पेश्की विवरण, पदपूर्ति समितिको छनौट र प्रक्रिया, विकासका योजना भुक्तानीका विवरण, दर्ता चलानीको किताब र प्रतिलिपि, कोरोनापीडितलाई दिइएको रकम, नगरपालिकाको सम्पूर्ण बैंक खाताको विवरण, हालसम्म भएको खर्चको मासिक विवरणलगायत सार्वजनिक सुनवाइ हुनु पर्ने माग राखी यादव चैत ३ गते साँझदेखि अनशन बसेका हुन्।
नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलनका क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो। उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो। त्यसपछि उनले सञ्चारकर्मीसामु माफी मागेका थिए।
नगरप्रमुख जैसवालले आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरे। ‘मैले बेथिति हटाउने कामको सुरुआत गरेका हुँ। तर मलाई काममा सहयोग गर्नुको साटो अपमान गर्ने काम भयो,’ उनले भने, ‘यादवले मागेको सबै सूचना दिन्छु भन्दा पनि समय नपाउने कस्तो जिद्दी हो। हामीले सबै सूचना दिन्छौ भनेकै हो। अनशन बसेर सबैलाई चकित पारे।’ यादवले आफूलाई दुर्ववहार गरेको भन्दै इलाका प्रहरी गरुडामा निवेदनसमेत दिएका थिए। तर, ईलाकाका डीएसपी छेदीलाल कामतीले नगर प्रमुख जैसवालको निवेदन दर्ता गरेनन्।
यता बृन्दावन नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै वडाध्यक्ष र दलका नेताहरुको रिले अनशन जारी छ। नगरपालिका प्रमुख विनोद कुर्मीले गरेको गतिविधिबारे सूचना माग्दा नदिएको आरोप लगाउँदै वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का वडाध्यक्ष हरिनारायण साह, ४ का वडाध्यक्ष श्यामनन्दन राय र ५ का वडाध्यक्ष फेकु दास रिले अनशनमा बसेका हुन्। उनीहरुसँगै नगरपालिकाका पूर्वनगरप्रमुख, एमाले, माओवादी केन्द्र, कांग्रेस, जसपा र आम जनता पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु यही बुधबारदेखि अनशनमा छन्।