काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद सिके राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत महिलाको अधिकार खोस्ने काम भएको बताएका हुन्।
‘संविधानको अभ्यास गर्ने उच्च थलो भनेको संघीय संसद् हो। संविधानको धारा ३८ (४) मा महिलाको लागि व्यवस्था हुँदाहुँदै पनि उपराष्ट्रपतिको निर्वाचनमा जसरी महिलाको अधिकार खोस्ने काम गरियो। त्यो समयमा महिला सांसदहरु पनि आफूले संविधानबाट पाएको अधिकारसमेत लिन नसक्ने अवस्था देखियो। त्यसप्रति मलाई दुःख पनि लागेको छ,’ उनले भने।
संविधानबाट पाएको अधिकार सांसदहरुले नै प्रयोग गर्न नसकेको उनको दाबी छ। संविधानमा भएको व्यवस्था सांसदहरुले उपभोग गर्न नसकिरहेको अवस्थामा आम जनताले अधिकार लिनसक्छन् भनेर कल्पना पनि गर्न नसकिने उनले बताए।
‘यो अवस्थामा हामीले संविधानबाट पाएको अधिकार सांसदहरुले लिन सक्दैनन् भने आम जनताले कसरी पाउछन् भन्ने कुरा मलाई दुःख लागेको छ,’उनले भने।