कञ्चनपुरमा १५ शय्याको अस्पताल निर्माण हुँदै - Chaitanya News
  • 2026-05-02
  • 17:55:00
  • शनिबार,बैशाख १९, २०८३
  • कञ्चनपुरमा १५ शय्याको अस्पताल निर्माण हुँदै

    कञ्चनपुरमा १५ शय्याको अस्पताल निर्माण हुँदै

    कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ। बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ।

    ०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अनुरुप बेलडाँडीमा स्थानीय सरकारले अस्पताल निर्माण कार्य चालु आर्थिक बर्ष ०७९–०८० देखि नै शुरु गरेको हो।

    तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर ०७७ मा एकसाथ शिलान्यास गरेका थिए। तर, बेलडाँडीमा तत्तकालिन एमाले नेतृत्वकै स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि नबढाएपछि काँग्रेस नेतृत्वको स्थानीय सरकारका पालामा अस्पताल निर्माण कार्य अघि बढेको छ। ०७९ जेठ पहिलो सातादेखि काँग्रेस नेता हरिचन्द्र राना नेतृत्वको स्थानीय सरकारले अस्पताल निर्माण कार्य अघि बढाएको हो।

    राना नेतृत्वको बेलडाँडी स्थानीय सरकार गठन भएको सात महिनापछि अस्पताल निर्माण कार्य अघि बढेको छ। १५ बेडको अस्पताल निर्माणका लागि बङगामुखी बैजनाथ जेभीले ६ मंसिर ०७९मा सम्झौता गरेको छ।

    दुई बर्षभित्रै अस्पताल निर्माण गरिसक्ने गरी निर्माण कम्पनी बङलामुखी बैजनाथ भेजीले पालिकासंग सम्झौता गरेको छ। १६ करोड, ५१ लाख, ६२ हजार, ५७७ रुपैयाँमा आगामी ६ मंसिर ०८१ सम्ममा निर्माण कार्य सक्ने सम्झौता गरेको छ।

    बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर विष्टले सम्झौतापछि पुषदेखि निर्माण कार्य शुरु गरेको बताए। प्रवक्ता विष्टका अनुसार शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले अस्पतालको शिलान्यास गरे ।

    अस्पताल शिलान्यास गर्दै विष्टले समयमै गुणस्तरिय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । प्रदेश सभा सदस्य विष्टले संविधान अनुरुप स्वास्थ्य अधिकार जनताको मौलिक अधिकार भएकाले भवन निर्माणसंगै अस्पताल संचालनका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए।

    बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले अस्पताल निर्माण कार्य तिव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए। गाउँप्रमुख रानाले अस्पताल निर्माणमा पालिकाबाट पुर्ण सहयोग रहने बताए।

    यसअघि बेलडाँडीमा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान भईरहेको छ। अस्पताल निर्माण भएसंगै बेलडाँडीका स्थानीय जनताले गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउने गाउँ प्रमुख रानाको भनाई छ। अस्पताल निर्माण हुन थालेपछि स्थानीय समेत हर्षित भएका छन्।