काठमाडौँ– ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले आयोजक ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
ललितपुर मेयर्सको भने यो लगातार दोस्रो पराजय हो। ललितपुर मेयर्सले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ५१ रनको पराजय भोगेको थियो।
शुक्रबारको खेलमा ६६ रनको लक्ष्य कोशीले १२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। कोशीका लागि अप्सरी बेगमले सर्वाधिक २९ रनको योगदान गरिन्। ललितपुर मेयर्सका लागि अस्मिना कर्माचार्यले २ तथा कृतिका मरासिनीले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्सले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ६५ रनमात्र जोड्यो। उसका लागि लक्ष्मी चौधरीले २३ रन जोडिन्। कोशीका लागि निशा शाहले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे।