काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन्।
अध्यक्ष नेपालले २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने प्रस्ताव गरेका हुन्।
सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो। आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन्।
तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन्। शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले प्रचण्डसमक्ष नेकपा ब्युँताउने प्रस्ताव गरेको जानकारी दिएका हुन्।
शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ।