काठमाडौं– पछिल्लो १० वर्षमा काठमाडौं उपत्यकाका स्थानीय तहमा जनसंख्या वृद्धिदर उच्च देखिएको छ। सबैभन्दा धेरै जनसंख्या बढ्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पहिलो स्थानमा छ।
शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको जनसंख्या २०६८ को भन्दा दोब्बरले बढेको छ। २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको छ। यहाँको वार्षिक जनसंख्या वृद्धिदर ७.४१ प्रतिशत छ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको जनसंख्या पनि करिब दोब्बर बढेको छ। २०६८ मा ६२ हजार १७२ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख २३ हजार ११६ पुगेको छ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा २०६८ मा ८१ हजार ४४३ जनसंख्या रहेकामा २०७८ मा १ लाख ५१ हजार ४७९ पुगेको छ।
काठमाडौंको नागार्जुन नगरपालिकामा २०६८ मा ६७ हजार ४२० रहेको जनसंख्या बढेर २०७८ मा १ लाख १५ हजार ४३७ पुगेको छ।
सबैभन्दा बढी जनसंख्या घट्नेमा भने अछामको साफेबगर नगरपालिका पहिलो स्थानमा छ। त्यहाँको जनसंख्या २०६८ सालमा ३३ हजार ७८८ रहेकामा २०७८ मा घटेर २५ हजार ८९१ मा झरेको छ। बागलुङको जैमिनी गाउँपालिकाको जनसंख्या २०६८ मा ३२ हजार ४६ रहेकामा २०७८ मा २४ हजार ६२८ मा झरेको छ।
अछामकै मंगलसेन नगरपालिकाको जनसंख्या पनि १० वर्षमा ६ हजार भन्दा धेरै घटेको छ। २०६८ सालमा ३२ हजार ५०७ रहेको यहाँको जनसंख्या २०७८ मा घटेर २६ हजार ५०७ मा आइपुगेको छ। स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको फलेबास नगरपालिका पनि धेरै जनसंख्या घट्ने ५ पालिकाभित्र परेका राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
जिल्लागत रुपमा भने सबैभन्दा कम जनसंख्या मनाङको छ र सबैभन्दा धेरै जनसंख्या घट्ने जिल्लामा रामेछाप छ।
