सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी - Chaitanya News
  • 2026-07-03
  • 04:37:50
  • बिहिबार,आषाढ १८, २०८३
  • सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी

    सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो : मन्त्री मोदी

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सबैको एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।

    तपाईहरु आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो,” उनले भने।

    मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताए। उनले भने, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले हेर्छु।”

    मन्त्री मोदीले कर्मचारीहरु जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेकाले पहिलो जनताको कामलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिए।

    मन्त्री मोदीले पूर्वाग्रह भावना राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने समेत बताए। उनले भने, “निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छभन्दा केही मान्छेहरुमा छटपटि भएको छ” उनले भने, “वृद्धि विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ।”

    निजामती प्रशासनभित्रको बेथितिलाई सुधार गर्ने घर नै सामान्य प्रशासन मन्त्रालय भएको भन्दै मन्त्री मोदीले भने, “केही सुधार त गर्नैपर्छ, सही सुझाव र सल्लाहका लागि मेरो ढोका सदैव खुला छ।”