काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त राष्ट्रपति पौडेललाई आज बधाई एवं शुभकामना दिएको हो ।
चेम्बर पदाधिकारीसंगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गराउँछु।’
वर्तमान आर्थिक संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।
राष्ट्रपतिसंगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफुहरु विश्वस्त रहेको बताए। अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन। पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरुमा गम्भिर असर गरेको छ,।’
पुँजिगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।