काठमाडौं– आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ।
प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन्। जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन्।
समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन्।
यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
उद्घाटन खेल नेपाल र मलेसियाबीच मे १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
नेपालले दोस्रो खेल मे २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ।
नेपाल र ओमानसहित स्कटल्याण्ड आईसीसी क्रिकेट लिग टू को शीर्ष तीन भित्र रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छानिएका छन्।
दुवै मैदानमा समूह्य चरणमा १०–१० र एक एक सेमिफाइनल खेल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा हुनेछ। फाइनल खेल मे १ तारिखमा हुनेछ भने मे २ तारिखलाई रिजर्भ डे राखिएको छ ।
प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन्।