फिल्ममा फर्कने तयारीमा पल शाह - Chaitanya News
  • 2026-05-24
  • 21:44:55
  • आइतबार,जेठ १०, २०८३
  • फिल्ममा फर्कने तयारीमा पल शाह

    फिल्ममा फर्कने तयारीमा पल शाह

    काठमाडौं– अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन्। कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ। तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन्।

    यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ। मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ। फिमेल भर्सनमा अनु चौधरीको स्वर समावेश छ।

    पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ। सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन्। उनलाई अफर गर्न आउने निर्मातालाई उनले त्यही भनेका छन,’ स्रोतले भन्यो, ‘फिल्म चल्यो भने कलाकारलाई पनि फाइदा हुनुपर्छ भन्ने उनको मान्यता छ।’

    पछिल्लो समय अभिनेताहरु सौगात मल्ल र दयाहाङ राईले कतिपय फिल्ममा पारिश्रमिकको सट्टा सेयर लिएर काम गरिरहेका छन्। छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’मा यी दुईले सेयर लिएर फिल्म गर्ने सहमति गरिसकेका छन्। दयाहाङ र सौगातको यो शैलीलाई पलले पछ्याएका हुन्।

    एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो। ‘अवश्य पनि उनले २ देखि ३ लाख पारिश्रमिक लिने कुरा टिममा चलेको हो। सुरुमै गर्नुपर्‍यो भनेर ५ लाखसम्म दिन्छु भनेर पनि आएका छन्। तर विचार गरेर मात्र काम गर्ने कुरा छ,’ स्रोतले भन्यो।