महेन्द्र राजमार्ग अवरुद्ध - Chaitanya News
  • 2026-11-07
  • 16:45:55
  • शनिबार,कार्तिक २२, २०८३
  • पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो।

    चोरमारा र अरुणखोलाको बीचमा रहेको गंडारखोलामा ट्रकको पट्टा खसेर गाडी फस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीका सई टीकाराम पोख्रेलले जानकारी दिए। राजमार्ग फराकिलो बनाइँदा निर्माण गरिएको डाइभर्सनमा रातोमाटोको हिलोमा गाडी फसेको हो। दुवै ट्रकको क्राउन भाचिएर फसेपछि पूर्वपश्चिम हिँडेका गाडी अरुणखोला र चोरमारा बीचको जंगलमा रोकिएका छन्।

    सोमबार राति साढे १० बजेबाट चोरमारा कावासोती बीचको ४० किलोमिटर भन्ने स्थानमा जाममा परेका गाडी झ्यालबास र कोल्हुवा हुँदै वारपार गराइएको थियो। दुवै भित्रि सडकबाट निस्केका गाडी फेरि राजमार्गमै निस्कन्छ। राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका गाडी फेरि अरुणखोला नजिक जाममा पर्दा सयौं यात्रु अलपत्र परेका छन्।