युक्रेन मामिलामा शान्तिका लागि वार्ता गर्ने सिको प्रस्तावमा पुटिनको समर्थन - Chaitanya News
  • 2026-07-03
  • 09:54:49
  • शुक्रबार,आषाढ १९, २०८३
  • युक्रेन मामिलामा शान्तिका लागि वार्ता गर्ने सिको प्रस्तावमा पुटिनको समर्थन

    युक्रेन मामिलामा शान्तिका लागि वार्ता गर्ने सिको प्रस्तावमा पुटिनको समर्थन

    काठमाडौं– रसिया र युक्रेनबिचको युद्ध ३९० दिन पुग्दा चिनियाँ राष्ट्रपति सि चिनफिङ हिजो मस्को पुगे। युद्ध चलिरहँदा र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा सिको रसिया भ्रमण भएको हो।

    मस्कोमा सि र पुटिनबिच सीमा बिहीन सहकार्य बारे छलफल भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार क्रेमलिनमा भएको भेटमा पुटिन र सीले एकअर्कालाई ‘प्रिय मित्र’को रूपमा अभिवादन गरेका थिए। अमेरिका र पश्चिमा राष्ट्रहरुले रसियालाई एक्लाउँदै गर्दा र पुटिनविरुद्ध वारेन्ट जारी भएको अवस्थामा यी प्रिय मित्रहरुको भेटलाई महत्वका साथ हेरिएको छ।

    १० वर्षअघि राष्ट्रपतिमा निर्वाचित भएपछि सिले पहिलो विदेश भ्रमण रसियाबाट नै गरेका थिए। अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएर पनि सिले पहिलो विदेश भ्रमण रसियाबाट गरेका हुन्। तर, यसपटक सिको उद्देश्य पहिलाभन्दा फरक छ।

    दुई देशिबिचको आपसी सम्बन्ध र व्यापारमात्रै सिको भ्रमण एजेन्डा होइन्। सिले पुटिनसामु शान्तिको प्रस्तावसमेत राखेका छन्।

    सिले युक्रेनका मामिलामा शान्तिका लागि आवाज उठिरहेको पुटिनलाई बताएका थिए। उनले शान्तिका लागि वार्ता गर्न पनि पुटिनलाई भनेका छन्। चीनले युक्रेन मामिलामा राजनीतिक समझौताु कायम गराउन रचनात्मक भूमिका निर्वाह गर्ने सीले बताएका छन्।

    सिल युक्रेन संकटका बारेमा चीनको धारणा पोजिसन पेपर मार्फत सार्वजनिक गर्दै त्यसको राजनीतिक समाधानको वकालत गरेको र शीतयुद्धको मानसिकता र एकपक्षीय प्रतिबन्धलाई अस्वीकार गरेको पनि पुटिनलाई जानकारी दिएका थिए।

    रसियाका राष्ट्रपति पुटिनले भने चीनले यस विषयमा निष्पक्ष र सन्तुलित अडान कायम राखेको भन्दै प्रशंसा गरेका थिए। पुटिनले युक्रेन मुद्दाको राजनीतिक समाधानमा चीनको पोजिसन पेपरलाई ध्यानपूर्वक अध्ययन गरेको र शान्तिका लागि वार्ता गर्न खुला रहेको जनाएका थिए।