आयोगले सार्वजनिक गर्‍यो तनहुँ- १ र बारा- २ को उपनिर्वाचन मिति - Chaitanya News
  • 2026-05-17
  • 09:42:40
  • आइतबार,जेठ ०३, २०८३
  • आयोगले सार्वजनिक गर्‍यो तनहुँ- १ र बारा- २ को उपनिर्वाचन मिति

    आयोगले सार्वजनिक गर्‍यो तनहुँ- १ र बारा- २ को उपनिर्वाचन मिति

    काठमाडौं- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ ।

    वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए ।

    ‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो ।

    तनहुँ- १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा- २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।

    रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन- २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

    आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

    त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।