न्यूनतम् साझा कार्यक्रमले निरन्तरता पाउने आशमा प्रधानमन्त्रीलाई विश्वासको मत : रास्वपा उपसभापति - Chaitanya News
  • 2026-07-03
  • 01:38:48
  • बिहिबार,आषाढ १८, २०८३
  • न्यूनतम् साझा कार्यक्रमले निरन्तरता पाउने आशमा प्रधानमन्त्रीलाई विश्वासको मत : रास्वपा उपसभापति

    न्यूनतम् साझा कार्यक्रमले निरन्तरता पाउने आशमा प्रधानमन्त्रीलाई विश्वासको मत : रास्वपा उपसभापति

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन्।

    प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्न सक्ने परिस्थिति आउने उल्लेख गरे।

    उनले भने, हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढ इच्छाशक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौं। हामीलाई असफल हुने छुट छैन। अत्यन्त ढिलो भइसकेको छ। हामीलाई अब पनि थप समय लिने छुट पनि छैन।

    यसअघिको सम्झौताअनुसार न्यूनतम् साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गरे।

    उनले भने, हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन। नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं।

    सदन चलेको दिनलाई उत्सवका रूपमा लिने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उनले संसदमा छलफल हुने विषयप्रति जनतालाई उत्सुकता र जानकार बनाउन बनाउन सक्नुपर्छ, भने।