काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियाका सम्पूर्ण काम अविलम्ब टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन्।
प्रधानमन्त्री ‘प्रचण्ड’ले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गर्दै उनले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताए।
अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानून, संक्रमणकालीन न्यायका मान्य सिद्धान्त, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतका आदेशसमेतको आधारमा विधेयक अघि बढाइने उनको भनाइ छ।
यो कुनै दलविशेषको मुद्दा वा सरोकार नभइ मुलुकले समाधान गर्नुपर्ने राष्ट्रिय विषय हो”, उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गर्नेछ।”