काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना बताएका छन्। आइतवार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए। सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको उनले बताए। उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए।
उनले भने– ‘त्यो विषय वास्तवमै गम्भीर छ। किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो। तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन्। त्यसैले के हो भने झापा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले) का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो। तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजारपटक सोच्नु पनि पर्छ। उहाँले जे बोल्नुभएको छ, त्यो विषय गम्भिर नोटिसमा समाजको सामुन्ने छ। त्यसप्रति हामी सबैको विमत्ति छ।’
शर्माले भने, ‘राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो। त्यसकारण कुनै व्यक्तिको बारेमा कहिँ कतै टिप्पणी छ भनेपनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो। तर समग्रतामा पत्रक रहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ। हाम्रो लागि आलोच्य छ, उहाँको लागि आत्मआलोचना गर्नुपर्छ।’ उनले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि बताए।