काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ को विषयमा पार्टीहरूका बीचमा सहमति भइसकेको दाबी गरेका छन।
आइतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरूका बीचमा सहमति भइसकेको बताएका हुन। उनले सत्तारूढ दलहरूका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको बताए। प्रतिपक्ष दलहरूको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उनको भनाइ छ।
उनले भने, ‘सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरूको बीचमा सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरूको पनि सहमति छ। प्रतिपक्षी पार्टीहरूको पनि त्यसमा विमति रहेको अवस्था छैन।’
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने उल्लेख गरे।
प्रधानमन्त्रीले भोलि (सोमवार) विश्वासको मत लिँदै छन। विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ।