काठमाडौं–काठमाडौंउपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ। केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए ।
यो प्रणालीका कारण भोलि शनिवार र पर्सि आइतवार पनि वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताए। उनका अनुसार गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित बदली हुने सम्भावना छ।
यसैबीच हिउँदे वर्षाले किसानलाई राहत मिलेको छ। वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको छ। गएको असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन। पानी परेसँगै किसानले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ।
यस्तै चैते वर्षाले महोत्तरीलगायत मधेसको जनजीवनमा राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्प वर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन्। यसपालि पूरै हिउँद पानी नपरि बितेका बेला चैतको सुरुमै सिमसिमे पानी परेको हो।
आजको वर्षाले वैशाखी तरकारीका बेला ९लहरा० पात भिजाएको, फलफूलका बोट (आँप, लिची) का मज्जर (मञ्जरी, फूल) र पातमा लागेका किरा, धब्बा पखालेको बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगरले बताए।