बुटवल — रुपन्देही प्रहरीले शुक्रबार १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर जाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान भेटिएको थियो।
जसमा लेडीज सुट, ब्लाउजको भित्री अस्तर, पहेंलो धोतीको कपडा, पूजामा प्रयोग गरिने सेतो कपडा, बेल्ट लगायत छन्। बरामद भएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।