उपराष्ट्रपति निर्वाचन आज, राप्रपाले मतदान नगर्ने - Chaitanya News
  • 2026-05-19
  • 05:38:22
  • सोमबार,जेठ ०४, २०८३
  • उपराष्ट्रपति निर्वाचन आज, राप्रपाले मतदान नगर्ने

    उपराष्ट्रपति निर्वाचन आज, राप्रपाले मतदान नगर्ने

    काठमाडौं- नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

    मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

    उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव उम्मेदवार छन्।

    जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादव नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको समर्थन र प्रस्तावमा उम्मेदवार भएका हुन् ।

    जनमत पार्टीका झालाई भने लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदले समर्थन गरेको छ। जसपाकै अर्का उम्मेदवार प्रमिलाकुमारी उम्मेदवार नरहेको उक्त दलले जनाए पनि निर्वाचन अधिकृतको कार्यालयको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकोले मतपत्रमा उनको नामसमेत राखिएको छ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपराष्ट्रपतिको निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको जानकारी दिए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का दुवै सदनका सदस्य र प्रदेश सभाका सदस्य रहने निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ। सो व्यवस्थाबमोजिम ८८२ सदस्य मतदान गर्न योग्य छन्।

    सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले सङ्घीय संसद्का सदस्यले मतदान गर्ने केन्द्रका लागि कृष्णशरण लामिछाने र प्रदेश सभा सदस्यले मतदान गर्ने केन्द्रका लागि मन्दिरा शाहीलाई मतदान अधिकृत नियुक्त गरिएको जानकारी दिए।

    आयोगले सार्वजनिक गरेको नमुना मतपत्रबमोजिम सङ्घीय संसद्का सदस्यका लागि सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको मतपत्र छापिएका छन्। प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो अक्षरले लेखिएको मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिए।

    मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)बाट उम्मेदवारी दिकी शाक्य, दोस्रो क्रममा जसपाबाट उम्मेदवारी दर्ता गराएकी प्रमिलाकुमारी, तेस्रोमा जनमत पार्टीका ममता झा र चौथोमा जसपाकै रामसहायप्रसाद यादवको नाम उल्लेख छ।

    निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ। मतदान सम्पन्न भएलगत्तै निर्वाचन प्रतिनिधिको सहमतिमा मतगणना सुरु गरिने र साँझ ६ बजेभित्र मतपरिणाम आउने आयोगले जनाएको छ।

    निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने मतदानमा भाग नलिने जनाएका छन्। राप्रपाले गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

    राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो।