हेटौँडा सामुदायिक आँखा अस्पतालमा ९७ हजार चार सय नौ जनाले पाए सेवा - Chaitanya News
  • 2026-05-02
  • 16:51:45
  • शनिबार,बैशाख १९, २०८३
  • हेटौँडा सामुदायिक आँखा अस्पतालमा ९७ हजार चार सय नौ जनाले पाए सेवा

    हेटौँडा सामुदायिक आँखा अस्पतालमा ९७ हजार चार सय नौ जनाले पाए सेवा

    मकवानपुर– हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ।

    अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठूला र एक हजार चार सय ८६ वटा साधारण शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए। सो अवधिमा अस्पतालले ९७ हजार चार सय नौ सेवाग्राहीलाई उपचार गरेको उनले बताए।

    अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा ५९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेकामा १२ हजार तीन सय ३६ जनाले उपचार गराएका व्यवस्थापक श्रेष्ठले बताएका छन्।

    ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात् शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको थियो। एक हजार ७३६ सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया निःशुल्क प्राप्त गरेका थिए। गैरनाफामूलक संस्थाका रुपमा सञ्चालित सो अस्पतालमा दैनिक तीन सय जनाको हाराहारीमा आँखा जाचाउन आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालले आँखा जाँच तथा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्दै आएको छ।

    स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको र अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेको जनाइएको छ।