महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु - Chaitanya News
  • 2026-05-19
  • 03:38:33
  • सोमबार,जेठ ०४, २०८३
  • महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु

    महेन्द्र राजमार्गको कावासोती खण्डमा कालोपत्र सुरु

    पूर्वीनवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ। बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो। हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ।

    जंगलक्षेत्रमा कावासोतीवाट पूर्वलोकाहा तर्फको ५ सय मिटर पक्की सडक निर्माण भएको हो। सडकका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाले लगातार पक्की सडक निर्माणको काम जारी रहने र एक साताभित्र करिब ४ किलोमिटर सडक कालोपत्र गरिसक्ने जानकारी दिए।

    राजमार्गको उत्तर तर्फको साढे ७ मिटर फराकिलो सडकमात्र पहिलो चरणमा पिच गरिएको हो। सदरमुकाम कावासोती क्षेत्रमा चाँडै पिच गर्ने लक्ष्यअनुसार धमाधम काम भइरहेको छ।बुधबार गरिएको पिच ६ सेन्टिमिटर बाक्लो छ।

    दोस्रो चरणमा ९आगामी तीन साताभित्र० त्यसमाथि थप ४ सेन्टिमिटर बाक्लो पिच थपिने इन्जिनियर झा बताउँछन्। यसअघि ठेकेदार कम्पनीले हर्कपुरदेखि पूर्व भेडाबारीसम्मको क्षेत्रमा करिब एक किलोमिटर खण्ड परीक्षण पिच गरेको थियो।

    बुधबार चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच थप ३४ हजार घनमिटर ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको छ। लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको क्षेत्र पिच गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्छ। नगरपालिकाले प्रतिक्युफिट ८ रुपैयाँका दरले चिनियाँ ठेकेदार कम्पनीलाई ग्राभल बेचेको हो।

    बजार क्षेत्रमा ६ लेनको सडक निर्माण हुने छ। ६ लेनको सडक निर्माण सम्पन्न हुँदा राजमार्ग साढे ३३ मिटर फराकिलो हुने छ। दोहोरो लेनको बीचमा ३ मिटर भाग (क्षेत्र) हरियाली हुने छ। बजार बाहेकको जंगल क्षेत्रमा ४ लेनको सडक निर्माण हुने छ। दाउन्नेमा ३ लेनको सडक निर्माण हुने छ। गाडी दगुर्ने लेन (मेन क्यारेज वे) र घर नजिक (दुवै किनार) को सडकको गुणस्तर फरक(फरक हुने छ।

    पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडक खण्डको एक सय १४ किलोमिटर सडक फराकिलो पार्न चिनियाँ ठेकेदार कम्पनीले १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको हो। गत साउन २२ गते सडक निर्माण पुरै सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सुरु सम्झौता थियो। त्यस अवधिमा सडक निर्माण जम्मा १९ प्रतिशतमात्र सम्पन्न भएका कारण सडक विस्तार गर्ने काम (समयावधि) एक वर्ष थपिएको छ।

    फागुन मसान्तसम्म सडक विस्तारको कार्य प्रगति २६ प्रतिशत मात्र छ।