काठमाडौं– राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरिएको छ। पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो।
तीन दिनअघि राखिएको तस्बिर आज फेरिएको हो। अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ। यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो। साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो।
राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन बसाइएको छ। यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर यत्रतत्र टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन्।