इटहरी- इटहरी उपमहानगरपालिकाले कर्मचारीले मासिक रुपमा लिँदै आएको खाजा खर्च घटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ। नगर प्रमुख हेमकर्ण पौडेलले अत्याधिक आर्थिक भारका कारण यतिबेला खर्च कटौति गर्नुपरेको बताएका छन्।
१२८औं कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालयले आर्थिक रूपमा मित्तव्ययिता अपनाउनुपर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेको हो । उपमहानगरले गाडी सुविधा नपाएका कर्मचारीलाई पनि इन्धन सुविधा दिँदै आएकोमा सो सुविधा समेत कटौती गर्ने निर्णय गरेको हो।
उपमहानगरले अघिल्लो आर्थिक वर्षमा खाजा खर्च २५ लाख रुपैयाँ भन्दा बढी कर्मचारीलाई दिएको छ। यसरी दिएको खर्च महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ। उपमहानगरको कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालयले आर्थिक रूपमा मितव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेको हो।
सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझाव आधार मानेर खर्च कटौती गर्ने निर्णयमा पुगेको उनले बताए।
उपमहानगरपालिकाले करिब पाँच सय कर्मचारीले मासिक पाँच हजार रुपैयाँ लिँदै आएको भत्ता सहित प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको निर्णय गरेको पौडेलले बताए।