लिगमा धेरै सुधार आवश्यक : मुख्य प्रशिक्षक - Chaitanya News
  • 2026-06-05
  • 14:56:54
  • शुक्रबार,जेठ २२, २०८३
  • लिगमा धेरै सुधार आवश्यक : मुख्य प्रशिक्षक

    लिगमा धेरै सुधार आवश्यक : मुख्य प्रशिक्षक

    काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले लिगमा धेरै सुधार आवश्यक रहेको बताएका छन्।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवनियुक्त इटालियन प्रशिक्षक अल्बर्टो एनेसलाई मंगलबार औपचारिक रूपमा सार्वजनिक गर्‍यो। त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्बर्टो एनेसले लिगमा भौतिक पूर्वाधारमा सुधार गर्नुका साथै खेलाडीको शारीरिक अवस्थामा पनि ध्यान दिनुपर्नेमा जोड दिए।

    “नेपालले भौतिक अवस्थामा काम गर्नुपर्छ। हामीले लिग क्यालेन्डरमा पनि सुधार गर्नुपर्छ। खेलाडीले दुईरतीन दिनमा दुई खेल खेल्छन्। खेलाडीलाई रिकभर गर्न समय छैन। प्रायः हरेक खेलमा खेलाडी घाइते भइरहेका छन्,” एन्फासँग एक वर्षका लागि सम्झौता गरेका अल्बर्टो एनेसले भने, “त्यसैले मलाई लाग्छ, सबैभन्दा बढी नेपालको भौतिक अवस्थामा सुधार गर्नुपर्छ। लिगमा सुधार भयो भने राष्ट्रिय टिमको प्रदर्शनमा पनि सुधार हुन्छ।”

    एन्फाले प्रशिक्षक अल्बर्टो एनेसलाई मासिक तलबबाहेक खाने–बस्ने र आउने–जाने व्यवस्था गरेको प्रवक्ता सुरेश शहले बताए। उनका अनुसार प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट तत्काललाई एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। प्रवक्त शाहले थपे, “हाललाई एन्फाको आन्तरिक स्रोतबाट (बजेट) व्यवस्था गरिएको छ। हामीले अन्य स्रोतको खोजी गरिरहेका छौँ।”

    इन्डियन सुपर लिगमा नर्थइस्ट युनाइटेडको प्रशिक्षण सम्हालेर नेपाल आएका अल्बर्टो एनेसले २७ वर्षको उमेरबाट प्रशिक्षकका रूपमा काम गर्न थालेका थिए। अफ्रिका, एसिया, युरोपका गरी नौ देशमा काम गरिसकेको उनले बताए।

    अहिले नेपाली टिमको एक हिस्सा हुन पाउँदा खुसी लागेको छ। यहाँ मलाई ठूलो जिम्मेवारी छ र चुनौती पनि। लामो समयदेखि यो अवसरको प्रतीक्षामा थिएँ। वास्तवमा भन्नुपर्दा मैले दुईरतीन वर्षदेखि नेपाली फुटबललाई पछ्याइरहेको थिएँ,” उनले भने, “यहाँ आउनु ठूलो सपना थियो। म उच्चस्तरमा काम गर्न चाहन्थेँ। यो ठूलो जिम्मेवारी हो। मेरो करियरमा राम्रो गर्न चाहन्छु।”

    अल्बर्टो एनेसको प्रशिक्षणमा नेपालले भुटान र लाओस सम्मिलित त्रिदेशीय प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगिता आउँदो चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा हुनेछ। त्रिदेशीय प्रतियोगिताको तयारीका लागि समय छोटो भएको उनले बताए।

    “लक्ष्य जित्ने हो। म सकेसम्म जित्न चाहन्छु । मैले टोलीको लागि नयाँ अनुहार बनाउनुपर्छ। टिममा नयाँ ऊर्जा देख्नेछौँ। टोलीमा युवा खेलाडी छनोट गर्न मन पर्छ। टिममा भएको ऊर्जा बुझ्न चाहने खेलाडीहरू मन पर्छ,” उनी भन्छन्, “म केही खेलाडीहरूलाई चिन्छु। इन्डोनेसिया र भारतमा केही खेलाडीलाई देखेको छु। यहाँका खेलाडीमा ठूलो सम्भावना छ। मलाई विश्वास छ कि हामीले राम्रो काम गर्न सक्छौँ। खेलाडीहरूका लागि अनुभव लिनु ठूलो चुनौती हो।”

    अब्दुल्लाह अल्मुताइरी गएपछि एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईं र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रवेश कटवाललाई प्रशिक्षणको जिम्मा दिएको थियो। त्यसपछि एन्फाले अल्बर्टो एनेससँग एक वर्षका लागि सम्झौता गरेको हो।

    प्रशिक्षक अल्बर्टो एनेसले आफ्ना खेलाडीको मनोवृत्ति आक्रमक हुनुपर्ने बताए। उनले नेपाली समर्थकबारे भने, “नेपाली जनताले अघिल्ला प्रशिक्षकलाई माया गर्थे। आशा छ, उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ।

    अल्मुताइरी र खेलाडीबीचको विवादबारे सोधिएको प्रश्नमा अल्बर्टो एनेसले भने, “यसबारेमा बोल्न चाहन्नँ। तपाईंहरूलाई कथा बनाउन राम्रो होला, तर मेरो लागि होइन। मलाई वास्तविक अवस्था थाहा छैन। युवा खेलाडीहरूका लागि राष्ट्रिय टिममा छनोट हुने यो ठूलो अवसर हो।