ठगी मुद्धामा पृथ्वी शाहसहित ६ जना जेल चलान - Chaitanya News
  • 2026-05-17
  • 04:32:10
  • शनिबार,जेठ ०२, २०८३
  • ठगी मुद्धामा पृथ्वी शाहसहित ६ जना जेल चलान

    ठगी मुद्धामा पृथ्वी शाहसहित ६ जना जेल चलान

    काठमाडौं– अमेरिकाबाट अवैध रकम भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ठगी,लिखितसम्बन्धी कसूर,सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुपर्क्षका लागि जेल पठाउने आदेश दिएको थियो।
    व्यवसायी शाहसित विजयविक्रम शाह,रंगबहादुर साउद, अनुप खड्का,चक्रबहादुर खत्री र रुक्मांगत काफ्ले पुर्पक्षका लागि कारागार चलान भएका हुन्। काठमाडौ जिल्ला अदालतले उनीहरुविरुद्ध परेको मुद्धा फैसला नहुन्जेल कारागारमा राख्न आदेश दिएको हो।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीका प्रवक्ता सञ्जय सिंह थापाका अनुसार उनीहरुसँगै पक्राउ परेकी मनिका तामाङलाई भने अदालतले ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ। उनीहरूमध्ये दुई जना डिल्लीबजार कारागारमा र अन्य ४ जनालाई सेन्ट्रल जेलमा राखिने थापाले बताए।

    अवैध रुपमा अमेरिकी नागरिकको पैसा नेपाल भित्राई ठगी गरेको आरोपमा प्रक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनको समूहमाथि विभिन्न ४ वटा कसुरमा मुद्धा दर्ता गर्नको लागि सिआइवीले सरकारी वकिल कार्यालयलाई सुझाव दिएको थियो।

    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अछाम घर भएका शाहसहित उनको समूह विरुद्धको कसुरमा अनुसन्धान गरेको थियो। सीआइवीका प्रवक्ता सञ्जय सिंह थापाका अनुसार शाहका भाइ विजयविक्रम शाह सहित ७ जना प्रक्राउ गरी अनुसन्धान गरेको थियो।

    गत पुस २२ गते प्रक्राउ परेका शाहसहित ७ जनाविरुद्धको अनुसन्धान सकेर सीआइवीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। प्रवक्ता थापाका अनुसार शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगी गरी अवैध ठूलो मात्रामा अमेरिकी डलर नेपाल भित्राएको पाएको छ।

    अनुसन्धान अधिकृतका अनुसार शाहले अमेरिकी नागरिकलाई बाध्य पारेर पैसा पठाउन लगाउने गरेको खुलेको छ। उनीहरुबाट ठगीएकामध्ये अधिकांश वृद्ध उमेर समूहका छन्। अवैध रकम ल्याएको आरोप लागेका शाहले अनुसन्धानको क्रममा नेपालमा घुम्न आएका अमेरिकी पर्यटकलाई सहयोग गर्ने र सहयोग बापतको रकम लिएको दावी गरेका छन्।

    सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सीआइवीले शाहसहितको समूहलाई व्यक्तिविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्न सकिने सुझाव दिएको थियो।

    सिआइवीका अनुसार शाहको कम्पनीले विभिन्न माध्यमबाट अमेरिकी नागरिकसम्म एक्सेस राख्ने गर्थे। एन्टी भाइरस अपडेट,अमेजनको विल भुक्तानीलगायतका बहानामा कुराकानीमा रहन्थे। रिमोट एक्सेसबाट उनीहरुको डिभाइसबाट बैक अकाउन्टसम्म पुग्थे। बैंक अकाउन्ट आफ्नो हातमा आएपछि अकाउन्टको रुकम नेपाल र थाइल्याण्डमा पठाउने गर्थे। पीडितको बैंक अकाउन्टमा पहुँच पुराएपछि उक्त अकाउन्ट शाहको समूहले नै चलाउने गरेको अनुसन्धानमा खुलेको छ।

    यो समूहले जग्गा खरिदमा पनि राजस्व र कर छली गरेको पाइएको सीआइवीले बताएको छ। कम्पनी दर्ता गर्दा पनि अन्य व्यक्तिको किर्ते औठाछाप लगाएको अनुसन्धानबाट खुलेको छ। सीआइवीका अनुसार शाहसहितको कम्पनीले पीडित व्यक्तिबाट ४५ लाख ४६ हजार अमेरिकी डलर,२२ हजार पाउण्ड र तीन लाख क्यानेडियन डलरसहित ठगी गरेको खुलेको छ।