काठमाडौँ — पछिल्लो समय अनलाइन ठगी बढिरहेको छ। सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायतका प्लेटफर्ममार्फत विभिन्न उपहार परेको छ भन्दै पैसा पठाउन लगाउनेहरू बढिरहेको छ। पछिल्लो पटक त्यस्तै अपराधमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट १५ लाख ठगी गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अन्जलीले टिकटकमा ब्रिटिस नागरिक फ्रान्कलिन पल भएको दाबी गर्दै नेपाली महिलालाई ठगेकी हुन्। उनले आफ्नो श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने प्रलोभन दिएको पीडितले प्रहरीलाई बयान दिएकी छिन्।
पीडितको ह्वाट्सएपमा कुराकानी गर्दै अन्जलीले पीडितलाई उपहार पठाइदिन्छु भनेर लोभ देखाएकी थिइन्। उनले जुत्ता, ब्याग, आईफोन, सुनका गरगहना र ७० हजार डलर पठाइदिने र त्यसका लागि डेलिभरी, भन्सार,बिमालगायतका विभिन्न शुल्क लाग्ने भन्दै पटक(पटक गरी १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएकी थिइन्।
पीडितले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनलाई ठगी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।