काठमाडौँ– नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउनुपर्ने बताएका छन्। सोमवार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताएका हुन्।
उनले स्थानीय तहको सिफारिसको आधारमा संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए। उनले तीन तहको सरकारबीच समन्वयको अभाव भएको भन्दै एक–आपसमा समन्वय गरेर काम गर्नुपर्ने बताए। संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई आफ्नो इकाइको रुपमा हेर्ने गरेको भन्दै उनले संघ सरकारले संविधानले प्रदान गरेका अधिकारहरु नै बिर्सिएको बताए।
उनले तीन तहको सरकारले गर्ने सेवा प्रवाहको सम्बन्धमा जनतामा प्रश्न उठेको बताए। सेवाहरु सर्वसुलभ हुन नसकेको, सुशासन कायम हुन नसकेको लगायतका समस्या तीन वटै तहको सरकारमा रहेको उनले उल्लेख गरे।