काठमाडौँ– सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन्।
उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षकको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए। यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए।
लामिछानेले सोमवार पिएनजीबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ। सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए। यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए। उनले प्रशिक्षक रणनीति अनुसार खेल्न पाउँदा आफूm खुसी रहेको प्रतिक्रिया दिए।
नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीविरुद्ध सहज सफलता मिलेको बताए। ओपनिङको रुपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताए।
अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्त्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूmलाई सफलता मिलेको बताए। प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको बताए । प्रशिक्षकको रणनीति अनुसार खेल्न आफू सफल भएको प्रतिक्रिया दिए।
लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीबार खेल्नेछ। त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ।