काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको नौ वर्ष लामो कार्यकाल आइतबार रातिबाट सकिएको छ।
कार्यकाल सकिएसँगै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि भण्डारीले राष्ट्रपति निवास शितलनिवास छाड्ने छिन् ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन्। पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन: २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हुन्। नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन्, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज सपथ ग्रहण गर्दैछन्।
राष्ट्रपतिको कार्यालय, शितल निवासले पौडेलको शपथका लागि फागुन २९ गते दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथ कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।
पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनी प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन्। पौडेलले ३३ हजार ८०२ मतभार र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।