काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताएका छन्। उनले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४–५ महिनाको समयमात्रै दिने बताए।
‘हामीसँग स्रोतसाधनको अभाव छ, त्योभन्दा धेरै समयको अभाव छ, हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ,’ थापाले भने, ‘अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ। हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन।’
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए।
‘हामी अहिले राष्ट्रपतिको चुनाव भनेका छौँ, उपराष्ट्रपतिको चुनाव भनेका छौँ, बधाई साटेका छौँ, हिडेका छौँ, तर समय त बितिरहेकै छ,’ उनले भने, ‘हाम्रो सरकारका दर्जनौँ मन्त्रालयहरू रिक्त छन्, त्यहाँ खर्चमात्रै भइरहेको छ, काम भइरहेको छैन। को व्यक्ति प्रधानमन्त्री, मन्त्री भयो भन्ने कुराले अर्थ राख्दैन, हाम्रो हरेक प्रधानमन्त्रीले आफ्नो खुत्रुक्केमा कति पैसा छ? कसरी चलिरहेको छ?भनेर थाहा पाउनुपर्छ। अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक डराउने होइन, हाम्रो प्रधानमन्त्री डराउनुपर्छ।’
उनले प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने बताए। उनले सरकारको न्यूनतम साझा कार्यक्रमको अभ्यास राम्रो भएपनि त्यो यथार्थमा आधारित हुनुपर्ने बताए। ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ।’
उनले सरकारले आर्थिक सुशासन कायम गर्न सक्नुपर्ने बताए। ‘निर्वाचनबाट आएको सरकारलाई बाँध्नकालागि संवैधानिक उदारवादको सिद्धान्तबाट सरकारले आफूलाई निरन्तररुपमा बाँधिरहनुपर्छ। यसकालागि सरकारले तीन कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पहिलो हो विधिको शासन, दोस्रो संविधानमा गरिएका बाचा र अर्को भनेको शक्ति सन्तुलनको सिद्धान्त हो।’
उनले सरकारले आफ्नो सीमा कति हो? के कुरामा कति खर्च गर्ने? कुन गतिमा काम गर्ने?भनेर थाहा पाउनुपर्ने बताए।