अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-20
  • 08:04:07
  • बुधबार,जेठ ०६, २०८३
  • अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री

    अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन।

    आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन र्गदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान दिइरहेको बताए।

    उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै सङ्कटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको जानकारी दिए। प्रधानमन्त्रीले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

    त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उनले उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताए।

    प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्दा निर्माण व्यवसायीहरुको सहभागितालाई समेत सुनिश्चित गर्ने बताए। उनले सो कानुन संशोधन गर्दा अन्य सरोकारवालालाई समेट्ने उल्लेख गरे।

    प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीप्रति जनताको धेरै गुनासो रहेको भन्दै त्यसप्रति सरकार जानकार रहेको बताए। निर्माण व्यवसायीहरुले जिम्मा लिएका कामहरु जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ छ ।