पूर्वी नवलपरासी — उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको काम तीब्र गतिमा अगाडि नबढाइए सरकारले ठेक्का तोड्ने चेतावनी दिएका छन्। शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्। काम छिटो गर्न हामीले पटक पटक ताकेता गरेका छौं जुन गतिमा काम हुनु पर्ने हो त्यो हुन नसके हामी ठेक्का तोड्ने पक्षमा छौुं श्रेष्ठले भने।
सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले काम थालेको करिब ४ वर्षको अवधिमा २४ प्रतिशत मात्र काम पूरा गरेको छ। तीन साताअघि बुटवल– नारायणगढ सडकको निरीक्षण गर्न आएका श्रेष्ठले तत्काल काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए। देशकै मुख्य राजमार्ग रहेको र यहाँ यात्रुको चाप धेरै भएकाले चाँडो काम सक्न ताकेता गरिरहेको उनले सुनाए।
उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार नै मध्यविन्दु नगरपालिका वडा नम्बर १ सेतापानीमा रहेको शान्ति आधारभूत नमुना विद्यालयको नवनिर्मित ४ कोठे भवनको पनि उद्घाटन गरे। उद्घाटनपछि बोल्दै श्रेष्ठले सरकार चाँडो समृद्धि आउने गरी विकासका काममा लागिपरेको सुनाए । उनले धनी र गरिबबीचको दूरी घट्ने गरी सरकारले देशको समृद्धिका लागि काम गरिरहेको दावी गरे।