शिक्षा क्षेत्रका बेतिथि अन्त्यको लागि स्ववियुमा नेविसंघको जित आवश्यक : केशव मिश्र - Chaitanya News
  • 2026-05-20
  • 06:56:19
  • बुधबार,जेठ ०६, २०८३
  • शिक्षा क्षेत्रका बेतिथि अन्त्यको लागि स्ववियुमा नेविसंघको जित आवश्यक : केशव मिश्र

    शिक्षा क्षेत्रका बेतिथि अन्त्यको लागि स्ववियुमा नेविसंघको जित आवश्यक : केशव मिश्र

    धनगढी- नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शिक्षा क्षेत्रका बेतिथिको अन्त्यका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको जित आवश्यक रहेको बताएका छन्।

    स्ववियु चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ र ५ ले अत्तरिया तथा धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले शिक्षा क्षेत्रका बेतिथिको सुधारका लागि सबै क्याम्पसमा नेविसंघको जित आवश्यक रहेको धारणा राखेका हुन्।

    ‘क्याम्पसको शिक्षा प्रणाली, क्याम्पसमा हुने विकास निर्माण, गरिव तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिने छात्रवृति र विद्यार्थीको हकहितलगायत थुप्रै विषयमा स्ववियुको ठूलो महत्त्व हुन्छ। त्यसमा पनि विगतको इतिहासलाई हेर्ने हो भने नेविसंघले खेल्दै आएको भूमिका झनै शसक्त रहँदै आएको छ,’ उनले भने। उनले नेविसंघका उम्मेदवारलाई विजयी गराउन पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणासमेत राखेका छन्।

    उनले टिकट वितरणमा पनि कसैको नजिकको व्यक्ति नहेरी नेविसंघका लागि सक्रिय व्यक्तिलाई टिकट दिनुपर्ने बताए। ‘लामो समयपछि स्ववियु निर्वाचन हुँदैछ। यो पार्टीका लागि पनि कलेज स्तरबाट नै योग्य नेतृत्व उत्पादन गर्ने अवसर हो। त्यसैले हामी योग्य व्यक्तिलाई चुनावमा उम्मेदवार बनाऔं र उनलाई विजयी गराउन सबै प्रतिवद्ध बनेर लागौं,’ मिश्रले भने।

    कार्यक्रममा क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया ललीत, अत्तरिया नगर सभापति बीरबहादुर चोखाल, संघीय निर्वाचन क्षेत्र नम्बर ४ कार्यसमिति, क्षेत्र नम्बर ४ मा रहेका जिल्ला सदस्य, पालिका कार्यसमिति पदाधिकारी, तरुणदल, महिला संघ, नेपाल विद्यार्थी संघलगायत विभिन्न भातृ संस्था तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी सहभागी रहेका थिए।

    क्षेत्र नम्बर ५ मा कैलाली सभापति नारायण भट्ट,  कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति हरी रेग्मी, कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडाल, धनगगढी नगरसभापति यज्ञराज उपाध्याय, वडा नम्बर १ का वडा सभापति सन्तोष मुडभरी, गोकुले कृषि क्याम्पसका सोबियु सभापति राजेन्द्र बमलगायतले धारणा राखेका थिए।

    आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएकोमा क्षेत्र ४ र ५ को जिम्मेवारी सचिव मिश्रलाई दिइएको छ।