काठमाडौं– नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन्। दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन्।
भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन्। अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ।
यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन। आज (शुक्रबार) पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो।
स्रोतका अनुसार महानिरीक्षक सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणामार्फत सेवा अवधि हटाउन लबिइङ गरिरहेका छन्। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहमत रहेको स्रोतको दाबी छ।
आईजीपी सिंहको यो प्रयासपछि भावी आईजीपीका लागि प्रतिक्षारत अधिकृतहरु सशंकित छन्। आईजीपीका बलिया प्रतिष्पर्धी मानिएका अशोक सिंहले नागरिकता विवादबीच राजीनामा दिएपछि भएको बढुवामा अधिकृतहरु डीआईजीकै वरियता अनुसार एआईजी बढुवामा सिफारिस भएका छन् ।
सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ।