काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतान्त्रीक नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। नौ दलीय गठबन्धनका साझा उम्मेदवार बनेका पौडेल ३३ हजार ८ सय २ मत प्राप्त गर्दै विजयी बने। रामचन्द्र ती भाग्यमानी व्यक्ति हुन्, जसलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सत्ता समीकरण नै फेरे।
राष्ट्रपति पौडेलको राजनीतिक यात्रा निकै रोचक छ। पौडेल करिब चार दशकसम्म संसदीय निर्वाचनमा जित हात पार्दै आएका व्यक्ति हुन्। उनले मन्त्री, सभामुखजस्तो जिम्मेवारी सम्हालिसकेका छन्। पौडेलले २०६७ सालमा प्रधानमन्त्री पदमा १७ पटक प्रतिस्पर्धा गर्दा पनि सफल भएका थिएनन्।
२०७२ मा सुशील कोइरालाको आकस्मिक निधनपछि कार्यवाहक सभापति बन्ने अवसरसमेत पाएका रामचन्द्रलाई कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रहने नेताका रुपमा चित्रण गरिन्छ। रामचन्द्र पटक–पटक मन्त्री भएर सरकारमा गए, सभामुख भए। पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए। तर उनी पार्टी सभापति भने हुन सकेनन्। प्रधानमन्त्री जस्तो कार्यकारी पदमा पुग्ने उनको चाहना पनि पुरा हुनसकेन।
रामचन्द्रलाई २०१७ ले जन्माएका नेता पनि भनिने गरेको छ। बीपी कोइरालालाई राजा महेन्द्रले २०१७ मा जेल हालेपछि १६ वर्षकै युवावस्थामा रामचन्द्र कांग्रेस राजनीतिमा छिरे। रामचन्द्रले बीपी २०३३ मा भारतको निर्वासनबाट फर्केपछि निकट रहेर काम गर्ने अवसरसमेत पाए। युवावस्थामै शीर्ष नेताहरूबीचको अन्तरसंघर्षका क्रममा सेतुको काम गर्दै आएको नेता पौडेले अहिले पनि बताउने गर्छन्। बनारसमा रहेका बीपी र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा दुई जनाबीच संवाद स्थापित गराएको दाबी पौडेल गर्छन्।
२००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षे उमेरमै राजा महेन्द्रको कदमविरुद्ध आक्रोशस्वरुप राजनीतिमा लागेको बताउँछन्। २०१८ मा कांग्रेसद्वारा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाएका पौडेल २०२३ मा सरस्वती क्याम्पसको विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। त्यसलगत्तै २०२४ मा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भएर पौडेल संस्थापक केन्द्रीय सदस्य बने।
२०४० मा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो। २०४४ मा कांग्रेस केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन्। पञ्चायत अन्त्य भई २०४६ मा प्रजातन्त्र आएपछि पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए। दोस्रो पटक २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने। २०५१ को मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। २०५१ मा प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे। पौडेल २०५६ मा तनहुँ २ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भए भने २०५७ मा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। उनी २०६२ मा कांग्रेस महामन्त्री भए।
पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक रहेर जिम्मेवारी निर्वाह गरे। २०६३ मा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जतिबेला माओवादी सरकारमा थियो। सरसर्ती हिसाब गर्दा पौडेलले करिब १६ वर्ष बढी मन्त्री, सभामुखलगायत लाभको पद सम्हालेको देखिन्छ। २०६४ मा कांग्रेस उपसभापति भएका पौडेल सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए। २०६५ मा उनी कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित हुन सके।
पौडेलले पञ्चायती राजतन्त्रविरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म गरी विभिन्न पटक १३ वर्ष जेल जीवन बिताएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर पौडेल संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास हुन्। राजनीतिक लाभ जता पाइन्छ, त्यतै ढल्किने पौडेल कांग्रेस विभाजित हुने बेला देउवाको पक्षमा लाग्न खोजे पनि पछि बीचबाटै गिरिजाप्रसाद कोइरालातिरै फर्किएका थिए।
कांग्रेसभित्र नीतिगत वैचारिक चिन्तन गर्न सक्ने र पटक–पटक मन्त्री हुँदा भ्रष्टाचारमा नमुछिएका इमानदार र निस्कलंक छवि भएका नेताका रुपमा पौडेललाई चिनिने गरेको छ।
बीपीको त्यागबाट प्रभावित रामचन्द्रले संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन्। सोही कारण पौडेल राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा परेका पात्र भएका छन्। पौडेलले ७० वर्ष लडेर प्राप्त गरेको व्यवस्था बचाइराख्ने प्रण गरेका छन्।