अर्घाखाँची — लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यको अर्घाखाँची सन्धिखर्क हटारीस्थित घर तोडफोड भएको छ। गत राति मूल ढोकाको साँचो तोडेर घरभित्रका सामान चोरी भएको मन्त्री आचार्यका छिमेकीहरूले बताएका छन्।
दाङ देउखुरी बस्ने आचार्य राष्ट्रपति चुनावका लागि काठमाडौं गएको र घरमा बस्ने श्रीमति दीपासमेत काठमाडौं गएका बेला घरमा कोही नभएको मौका छोपी चोरी भएको प्रहरीले जनायो।
आचार्य दम्पती काठमाडौं भएकोले नआउँदासम्म के कति सामान चोरी भएको हो यकिन नभएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।
प्रहरीका अनुसार घरका सबै कोठाका ताला फोडेको देखिन्छ। अहिले प्रहरीले घरलाई सुरक्षा दिएको छ। मन्त्री आएपछि केकति सामान चोरी भएको हो भन्नेबारे विवरण संकलन गरिने रिजालले बताए।
महिना दिनअघि पनि मन्त्री आचार्यको घरका चोरी भएको थियोे। त्यतिबेला धेरै क्षति भएको थिएन। गत राति ढोकाका सबै ताल्चा फोडेर सामान लगेको उनले बताए। चोरी भएको घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए।