कर्मचारीको उमेर ६० कायम गर्ने सरकारको तयारी , प्रणाली तहगत - Chaitanya News
  • 2026-05-16
  • 23:29:05
  • शनिबार,जेठ ०२, २०८३
  • कर्मचारीको उमेर ६० कायम गर्ने सरकारको तयारी , प्रणाली तहगत

    कर्मचारीको उमेर ६० कायम गर्ने सरकारको तयारी , प्रणाली तहगत

    काठमाडौँ-  सरकारले अब निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष कायम गर्ने भएको छ । अव आउन लागेको सङ्घीय निजामती सेवा ऐनमा ५८ वर्षे सेवा अवधिलाई बढाएर ६० वर्षे बनाउन लागिएको हो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आज मन्त्रालयमा गरेको छलफलको क्रममा सेवा अवधि ६० नै कायम गरिएको बताएका हुन् ।ऐनका प्रावधानहरूबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासाका क्रममा उनले सेवा अवधि ६० गरेको र श्रेणीगतलाई सबै तहगत बनाउने जानकारी गराएका हुन् ।

    सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी तहगत प्रणाली ल्याउन खोजिएको मन्त्री मोदीको भनाई थियो । सङ्घीय निजामती सेवा ऐन अन्तिम चरणमा पुगेको बताउँदै राजनीतिक सहमतिका लागि मात्रै रोकिएको बताएका छन् ।

    अब आउने निजामती सेवा ऐन अहिले भन्दा पनि आउँदा पुस्ताका लागि निर्माण गरिन लागेकोले पछिसम्म हेरेर तयार पारिएको उनले बताए । खास गरी प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिवको विषयमा प्रदेशबाट हुने सङ्केत मोदीको छ ।सञ्चारकर्मीहरूले सबैभन्दा बढी उठाएको प्रश्न सरुवाबारे पनि मन्त्री मोदीले आफ्नो प्रस्टोक्ति राखेका छन् । बढुवा भएका कर्मचारीहरूलाई विशेष अवस्थामा एक(दुई जनाबाहेक सबैलाई स्थानीयमा पठाएको उनको भनाई छ ।

    ‘सम्भवतः मेरै पालामा होला, नयाँ बढुवा भएका कर्मचारी सबैलाई स्थानीयमा पठाइएको छ, जसले कर्मचारी नै भएनन् भन्ने स्थानीय तहको माग सम्बोधन भएको छ,’ मन्त्री मोदीले भने ।

    यसै गरी अन्धाधुन्ध हुने र शक्तिकेन्द्रहरूको सिफारिसमा हुने सरुवामा आफ्नो इन्ट्रेस्टले कुनै कर्मचारीको सरुवा नगरिएको उनले दाबी गरे । कतिपय मिलाउनु पर्ने अवस्थामा छिटो(छिटो सरुवा भएको हुन सक्ने भन्दै पैसा खाएर सरुवा गरेको भन्ने विषयमा प्रमाण दिए त्यस्ता कर्मचारीलाई कारबाही गर्नेसमेत उनले बताए ।

    एउटा कर्मचारीलाई सरुवा गर्दा तीन जनालाई सार्नुपर्ने अवस्था धेरै सङ्ख्यामा देखिन आउने बताउँदै उनले ऐनमा नै सरुवा प्रणालीलाई व्यवस्थित गर्ने कुरामा आफूले सोचेकोसमेत बताए ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रिफर्म नै गरेर देखाउन खोजेको दाबी गर्दै उनले निजामती अस्पतालदेखि सेवा प्रवाहसँग जोडिएका निकायहरूमा कर्मचारीको व्यवस्थापनबारे पनि आफू सुधार गर्ने क्रममै रहेको उल्लेख गरे ।