तराई मधेसमा आज मनाइँदै होली - Chaitanya News
  • 2026-05-24
  • 20:36:57
  • आइतबार,जेठ १०, २०८३
  • वीरगञ्ज– पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ। तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो।

    कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन्। तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ। तराई मधेसमा होलिका दहन मंगलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताए।

    मंगलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उनको भनाइ छ। तर कतिपयले भने मंगलबार माछामासु बार्ने चलन रहेकाले आज मात्रै होली खेल्ने तर्क गरेका छन्।

    मंगलबार बारेको कारणले भन्दा पनि प्रतिपदा तिथि ढिलो गरी सुरु हुने भएकाले एक दिन ढिलो होली मनाउन लागेको साहको कथन छ। यसैबीच, होली पर्वका अवसरमा वीरगञ्जको विभिन्न स्थानमा आज सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ।