राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार, एमाले एक्लै भिड्दै - Chaitanya News
  • 2026-05-20
  • 04:04:37
  • मंगलबार,जेठ ०५, २०८३
  • राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार, एमाले एक्लै भिड्दै

    राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार, एमाले एक्लै भिड्दै

    काठमाडौं –   मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् ।

    एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । एमालेले १० पुसमा भएको सहमतिनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षा गर्दै आएको छ । राष्ट्रपति चयन गर्न भोलि बिहीबार संसद् भवन नयाँबानेश्वरमा निर्वाचन हुँदै छ भने निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ तोकिएको छ ।

    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता कायम भएको जनाएको छ । जसअनुसार प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता कायम भएका हुन् ।