काठमाडौं– नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको भिडन्तमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३–१ ले पराजित गरेको हो।
चर्च ब्वाइजका लागि आशिष चापागाईँले ११औं र ७१औं मिनेटमा गोल गरे। एरिक विष्टले १८औं मिनेटमा गोल गरे।
खुमलटारका लागि मेसुके ओलोमोउले ४०औं मिनेटमा एक गोल फर्काए।
लगातार दोस्रो जितपछि चर्च ब्वाइज ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। पहिलो खेलमै फ्रेण्ड्सलाई हराएर लिग सुरु गरेको खुमलटारको यो पहिलो हार हो।