आफ्ना सबै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबुआमालाई स्पेशल अवार्ड - Chaitanya News
  • 2026-06-05
  • 13:10:01
  • शुक्रबार,जेठ २२, २०८३
  • आफ्ना सबै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबुआमालाई स्पेशल अवार्ड

    आफ्ना सबै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबुआमालाई स्पेशल अवार्ड

    काठमाडौं– आफ्ना तीनै सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबुआमालाई स्पेशल अवार्ड प्रदान गरिएको छ।

    नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशल देवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो।

    नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल तीन जना यी दिदीभाइलाई सफलता दिलाउनका लागि दानबहादुर र मायादेवी पर्दा पछाडिबाट नायक बनेका थिए।

    नेपालमा आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रेरित गर्ने कमै अभिभावक रहेको बेला भोजपुरको यो जोडी त्यस्ता अभिभावक हुन् जसले ब्याडमिन्टन खेल्नका लागि मैदान बनाउनेदेखि अरुलाई प्रेरणा दिने काम समेत गरे।

    भोजपुर बजारका दानबहादुरले त आफैंले खेल मैदान बनाए, आफैंले प्रशिक्षण दिए र छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाए। त्यति मात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडी उत्पादन हुने ठाउँको रुपमा नै परिचित गराए।

    सुरुमा उनी आफ्ना कलिला नानीहरुलाई खेलाउन लैजाँदा गाउँलेहरुले दानबहादुरले छोराछोरी बिगार्ने भए भनेर जिस्काउँथे।

    दानबहादुर ब्याडमिन्टनमा बेस्सरी डुब्नुमा विशेष घटना पनि छ। जसबाट उनले इख लिएर काम गरे । हिजो ‘छोराछोरी बिगारे’ भन्ने गाउँलेहरु अहिले उनको सफलता देखेर छक्क पर्छन्। छोराछोरीलाई राम्रो खेलाडी बनाउने सपना देख्नेहरु अरु पनि छन्। तर दानबहादुर–मायादेवी दम्पतीको योगदान भने अरु भन्दा अलग छ, स्पेशल छ।

    विराटनगरमा खेल्न जाँदा ‘इन्डोर हल नभएको ठाउँका खेलाडी कसरी खेल्छन्’ भनेर उनलाई एकजना वरिष्ठ प्रशिक्षकले नमज्जाले जिस्काएछन्। त्यहाँबाट इख बोकेर भोजपुर फर्किएका दानबहादुरले त्यसपछि भयंकर मिहिनेत गरे। इन्डोर हल नभए पनि छोराछोरीलाई राम्रो खेलाडी बनाउने प्रण लिए। दिनरात नभनी लागे।

    आफू प्रशिक्षक थिएनन् तर त्यो कला सिके । यसको परिणाम, अर्को खेलमा विराटनगर पुग्दा सरादेवीले अन्तर्राष्ट्रिय खेलाडी भनिएका प्रतिद्वन्द्वीलाई शून्यमा पराजित गरिदिइन्। त्यहाँबाट शुरु भएको जितको सिलसिला सरादेवी, रत्नजित हुँदै नङशलदेवी तामाङसम्म जारी रह्यो।

    दानबहादुरले तीन दशक लामो यो अभियानमा शिक्षक पेशाको आफ्नो सबै तलब स्वाहा पारे। १२ वर्ष त भोजपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष नै बनेर सेवा गरे। आफ्नो सन्तानलाई च्याम्पियन बनेको देख्ने यो जोडीको चाहना छोराछोरीले पनि पूरा गरे। दानबहादुर दम्पती अब खुशी छन्। शिक्षण पेशाबाट रिटायर्ड भइसकेका उनी अहिले पनि भेट्रान्स ब्याडमिन्टन खेल्न देशभरि डुलिहिंड्छन्।

    उनै दानबहादुर र उनकी धर्मपत्नीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो।