८० प्रतिशत शो क्यान्सिल भयो, मैले अझै हेर्न सकेको छैन : ‘छड्के–२’का वितरक - Chaitanya News
  • 2026-05-24
  • 20:37:51
  • आइतबार,जेठ १०, २०८३
  • ८० प्रतिशत शो क्यान्सिल भयो, मैले अझै हेर्न सकेको छैन : ‘छड्के–२’का वितरक

    ८० प्रतिशत शो क्यान्सिल भयो, मैले अझै हेर्न सकेको छैन : ‘छड्के–२’का वितरक

    काठमाडौं– ‘छक्का पञ्जा–४’ले नेपाली बक्स अफिसमा आक्रमक व्यापार गरिरहेका बेला सँगै रिलिज भएको चलचित्र ‘छड्के–२’को अवस्था भने ‘विजोग’ छ। पाएका अधिकांश शो क्यान्सिल भए पछि चलचित्र बक्सअफिसमा कमजोर प्रमाणित भएको छ।

    सिनेमा ध्वस्त भयो। पाएको शो पनि ८० प्रतिशतभन्दा माथि क्यान्सिल भए,” वितरक सुनील मानन्धर भन्छन्, “मैले आजसम्म वितरण गरेका कुनै पनि सिनेमाको यस्तो दयनीय अवस्था देखेको थिइनँ।”

    सिनेमा राम्रो नहुनु नै नचल्नुको मुख्य कारण भएको उनी बताउँछन्। अरूको फिडब्याक सुनेरै आफूले आजसम्म आफैँले वितरण गरेको चलचित्र ‘छड्के–२’ हेर्न नसकेको उनी सुनाउँछन्।

    “चलचित्रको मेकिङ नै झुर भयो। पोस्टरदेखि नै सिनेमा बिग्रियो। ट्रेलर पनि राम्रो भएन,” सुनील अगाडि थप्छन्, “चलचित्रमा कथा नै भएन। जे पायो त्यही सिनेमा बनाएर कसरी चल्थ्यो र?

    करिब तीन करोडमा बनेको ‘छड्के–२’मा आफ्नो डेढ करोड रुपैयाँ डुबेको उनले सुनाए। “बलिउडको जस्तो अवस्था भए यहाँ भागाभागको अवस्था आउने थियो। धन्न हाम्रोमा त्यस्तो अवस्था छैन,” सुनील भन्छन्। बलिउडका ठूला व्यानरले आफ्नो सिनेमा चलेन भने वितरकलाई लिइसकेको पैसा पनि फिर्ता गर्छन्।

    स्टारलाई मात्रै लिएर चलचित्र नचल्ने भन्दै वितरक सुनील स्क्रिप्ट नै राम्रो हुनु पर्नेमा जोड दिन्छन्। यसपटक स्क्रिप्टमा नै मिहिनेत नहुँदा चलचित्र राम्रो नबनेको उनको ठहर छ।

    “म स्टारडमले मात्रै चलचित्र चल्छ वा चल्दैन भन्दिनँ। सबैभन्दा पहिला त कथा राम्रो हुनुपर्छ । जुन हाम्रो चलचित्रमा भएन,” सुनील अगाडि थप्छन्, “स्क्रिप्ट अनुसार सिनेमा नखिच्दा पनि नेपाली चलचित्र बिग्रिने गरेका छन्।” उनले कलाकारको छनोटमा पनि असन्तुष्टि जनाए।

    अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के–२’लाई निगम श्रेष्ठले निर्देशन गरेका छन्। गत शुक्रबार ‘छक्का पञ्जा–४’ सँगै यो चलचित्र पनि रिलिज भएको थियो। दुईवटा चलचित्र सँगै रिलिज हुँदा पनि ‘छड्के–२’ले राम्रो शो पाएको थियो। तर, दर्शक हलमा नपुगेपछि अधिकांश शो क्यान्सिल हुँदै आएका छन्। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले आज यो चलचित्रले ७ शो दिएको थियो।

    भोलि क्यूएफएक्स चेनमा ‘छड्के–२’ एउटा शो मा सीमित भएको छ।