काठमाडौं – बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजेको अभिव्यक्ति दिएपछि विवादमा आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसबारे स्पष्टिकरण दिएका छन् । भट्टराईले प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइने भए पनि ‘जनयुद्धकालीन’ मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दै प्रष्टीकरण दिएका छन् ।
भट्टराईले आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको निहुँ खोजेको र माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका थि ए। तर यसको चर्को आलोचना भएपछि उनले आफ्नो भनाई सच्याएका हुन् ।
आज (सोमबार) ट्वीट गर्दै उनले भनेका छ, ‘सानो स्पष्टीकरण–बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ ! म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजीर भएको छु ! तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा ‘टीआरसी’ ले हेर्ने हो, नियमित अदालतले हैन । प्रम प्रचण्डको हकमा पनि त्यही हो ! आवेग हैन विवेकले काम गरौं !’
२०७६ माघ १ मा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका–हत्या गरिएका पाँच हजार व्यक्तिको जिम्मा लिने बताएका थिए । बाँकी १२ हजार व्यक्ति हत्याको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने जिकिर गरेको विषयमा रिट निवेदन सर्वोच्चमा पुगेको थियो ।
ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दर्ता गर्न लगेको रिट निवेदनलाई गत कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता गर्न नमिल्ने) को आदेश गरेको थियो । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसक्दा रिट निवेदन लिएर अदालत पुग्दा दर्ता हुनुपर्ने आदेश गरेको छ । उक्त रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि माओवादी वृतमा तरङ्ग फैलिएको छ ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको थियो । रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्रराज आरण् लगायतको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका थिए ।
जसमा आपत्ति जनाउँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आदेशप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका थिए ।