काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोशी प्रदेशको नाम सबै हिसाबले उपयुक्त र औचित्यपूर्ण भएको बताएका छन्।
आइतबार एक वक्तव्य जारी गर्दै खनालले उक्त नाम राखेकोमा प्रदेशका सांसदहरूलाई बधाई दिएका छन्।
‘यही फागुन १७ गते बसेको प्रदेश सभा बैठकबाट प्रदेश १ को नामकरण कोशी प्रदेश राख्ने निर्णय गरेको छ। यो कोशी प्रदेशको ऐतिहासिक नामकरण हो। यो भौगोलिक,राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक हर हिसाबले उपयुक्त र औचित्यपूर्ण नामाकरण हो,’ खनालले भनेका छन्,‘यसले कोशी प्रदेशका ५० लाख जनताको र यहाँ रहेका सम्पूर्ण जाति र जनजातिको भावना, चाहना, आकांक्षा र यथार्थलाई आधारभूत रूपले प्रतिबिम्बित गरेको छ।’
कोशी प्रदेश सभाको अत्यधिक ठूलो बहुमतबाट भएको यो निर्णयले नामाकरणसम्बन्धी बहस र विवादलाई पनि अन्तिम रूपमा समधान गरेको खनालले उल्लेख गरेका छन्।
‘विधिपूर्वक नामाकरणसम्बन्धी बहसलाई अन्त्य गरिएकाले अब कोशी प्रदेशलाई एउटा सम्पन्न समृद्ध र सुखी प्रदेशमा बिकसित बनाउन र सिंगो प्रदेशलाई समाजवादको उच्चतम लक्ष्यतिर अघि बढाउन सबै शक्तिहरु एकताबद्ध भएर अघि बढ्न म हार्दिक आह्वान पनि गर्दछु,’ खनालले भनेका छन्।