बोलाइयो आठ दलीय गठबन्धनको बैठक, नयाँ रणनीति बनाउने तयारी - Chaitanya News
  • 2026-05-20
  • 00:18:30
  • मंगलबार,जेठ ०५, २०८३
  • बोलाइयो आठ दलीय गठबन्धनको बैठक, नयाँ रणनीति बनाउने तयारी

    बोलाइयो आठ दलीय गठबन्धनको बैठक, नयाँ रणनीति बनाउने तयारी

    काठमाडौँ – राष्ट्रपति निर्वाचनमा एकजुट भएका आठ दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

    राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ । राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससहितका आठ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत ८ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

    राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।